आहत म ।

कैयौं दिनको घरभित्रको गुप्तवासपछि म आज बाहिर निस्कें । घाम देखें । बाटोघाटो,चोक, गल्ली सबै बिरानो लागे । म आफ्नै ठाउँमा एक्लो र बिरानो महशुस गर्दैछु । त्यही सुन्दरफीड चोकले रूप फेरेको आभाष भयो । चौतारीमा डरलाग्दा र नौला मान्छेहरु मलाई नै ताकेर बसेझैं लाग्यो । हच्किएँ । आँफैभित्र खुम्चिएँ । अस्तिसम्म मलाई स्वागत गरेझैं लाग्ने आँगन, घरछेउ र गल्ली आज मदेखि तर्सिएर भाग्न खोजेजस्तै अनुभव भयो । नरमाईलो झन असह्य बन्यो । भक्कानिएर रुन मात्र सकिनँ । घाम चर्किंदै आयो, म हिंडिरहें ।

तर जाने कहाँ ?साथमा यही विकृत शरीर बाहेक केही छैन । एक सुका साथमा नभएको पनि कैयौं दिन भईसकेछ । खल्ती टक्ट्क्याउनु बेकार भयो । सडक किनार-किनारै आँफुलाई घिसारिरहें । अडिन पटक्कै मन छैन । मध्यान्ह हुँदै आयो, घाम झन चर्को भयो, पसिना आउन थाल्यो । घाम र पसिनादेखि डराउने म आज तिनिहरुलाई नै साथी बनाएर लतारिइरहें ।

मान्छेहरुको अनुहारमा सोझो गरेर हेर्न सकेको पनि छैन । त्यसले मलाई पागल भन्ला (किनकि म ‘’mentally disturbed" देखिन्छु !) त्यसले मेरो ज्याकेट नराम्रो छ , मान्छे नै नराम्रो छ भन्यो । अर्कोले के जीन्ज लगाएको त्यस्तो भन्ला । अझ अर्कोले ‘लौ त्यो मान्छेले के सर्ट लगाएको त्यस्तो’ भनेर हाँस्ला । म आत्तिएँ । दगुर्न खोजें । म यस्तरी आत्तिएँ कि लाग्छ, सारा संसारका प्राणीहरु मलाई मात्र एकोहोरो नियालिरहेका छन र म तिनिहरुको मुखबाट अनन्त हाँसो र खिसीका घिनलाग्दा आवाजहरु  निस्कने प्रतिक्षामा छु, कामिरहेको ।

 
कतिखेर फेवाताल आईपुगेछ ! डिलमा बसें । तालछेउ बहने चिसो हावाले पसिना एकैछिनमा ओभायो; लगत्तै मुटु काम्न थाल्यो, जाडोले । बेपरवाह बसिरहें । आँखाले भ्याएसम्म देखिने तालमा चिप्लेकिराको गतिमा यताउता सलल बगिरहेका अनेकौं डुङ्गाहरु हेर्दा हेर्दा आँखा थाके, आँसु आउन थाल्यो । आँखा जँचाउनु पर्ने छ , मैले । अब त किताब पढ्न पनि नसक्ने स्थितीमा पुग्न लागिसकेको छु । केही गोरेहरु मनेरको बेन्चमा आएर ‘चेस’ खेल्न थाले । त्यहाँबाट उठेर तालको अझ नजिक गएँ र त्यहीं चौरमा बसें, करीब चार बजेसम्म । घाम अस्ताउँदै आयो, वातावरण धुमिल भयो । घाम लाग्दाखेरि अलिकति  खुलेको  मेरो मन फेरि घोर निराशा र विरहमा डुब्यो । सबैथोक बिरानो, उराठ चारैतिर । तालको सुदुरमा घामका किरणहरु पर्दा  देखिने टलपल-टलपल गरि झल्मलाउने मन बहलाउने दृश्य एक्कासी बिलायो । लाचार म, त्यहीं बसिरहें । अब घर कसरी फर्कने ?

अहिले मेरो अवस्था कुनै सडकछाप भिखारीको भन्दा फरक थिएन । यसमा मेरो कुनै गुनासो पनि थिएन नै । त्यहाँबाट फेरि आधा घण्टाजति हिंडेर बाराही मन्दिरनिरको बसस्टपमा आईपुगें । बगरसम्म पुर्र्याईदिनको लागी त्यहाँ एउटा खलाँसीलाई अनुनय-विनय गरें । उसले गुरुजीलाई सोध भन्यो । गुरुजीलाई आँफुसँग भाडा तिर्न पैसा नभएको तर जसरी पनि बगर पुग्नुपर्ने, बरु सिटमा नबसेर उभिउँला भन्ने कुरा बिन्ति गरें अनि मोबाईल नम्बर दिएर कुनै दिन पैसा तिर्नेछु भनेर विनय गरें । पहिलोपल्ट मैले यसरी आफ्नो स्वाभिमान बन्धकी राखें । तर खोइ किन यसरी पहिलोपल्ट आफ्नो स्वाभिमान थाती राखेर अरुको सामु निहुरिनु पर्दा पनि मलाई कुनै ग्लानि भएन । सहज रुपमै लिएँ । जीवन-संग्राममा अनेकौं आरोह्-अवरोह र सेरोफेरोहरुमा सम्झौता किन र कसरी गर्नुपर्नेरहेछ, आफ्नो मान-प्रतिष्ठा र आत्मसम्मानलाई तिलान्जली दिएर कसैको सामु किन झुक्नुपर्नेरहेछ भन्ने कुरा अहिले मलाई ज्ञात हुँदैछ । जीवन सन्धि र सम्झौताहरुको गुजुल्टो हो । चाहेर पनि हामी तिनिहरुदेखि भाग्न सक्दैनौं ।

बगर आईपुग्दा निष्पट्ट अँध्यारो भईसकेको थियो । जीवनको एउटा असाध्य पाटोलाई मैले आज भोगें । नपुग्दो मसँग केही थिएन तर पनि म मजबुर बनाईएँ । जीवन एक्लैले जिउने कुरा होईन, यो त अनेकौं अरु जीवनहरुसँग अन्तर्सम्बन्धित हुन्छ र तिनीहरुको सापेक्षमा रहेर जीउनुपर्ने अनिवार्य हुन्छ । अनि यसरी जिउँदा दु:ख, सुख, सम्झौताहरुलाई सामान्यीकरण गर्न सक्नुपर्छ । मैले मेरो जीवन मेरो परिवारसँगै ‘’त्यसको’’ जीवनसँग पनि सम्बन्धित रहेको जब थाहा पाएँ, ठिक त्यसैबेला ‘’त्यसले’’ जिन्दगीको त्यो शाश्वत सत्य (अन्तर्सम्बन्धित, सम्झौताहरु आदि) लाई बुझ्न सकेन (अथवा बुझ्न खोजेन); अनि म यो अवस्थामा आईपुगें ।

(Written some weeks ago)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s