”अँह अँह मनै परेन । चित्त बुझेन । ज्याकेट मन परेन । स्टाईल भएन ..मलाई अग्लो चाहिन्थ्यो । सरी । अब फेरि काठमाडौं कहिल्यै नआउनुहोला…..।”
म यो लाईन प्राय: सम्झन्छु (त्योभन्दा बढि म उसलाई सम्झन्छु, मेरो प्रेम।
) । जब सम्झन्छु, छातीमा छुरा रोपिएको अनुभव हुन्छ । अपार पीडाबोधले म झण्डै बहुलाउँछु । काम्न थाल्छु ।
सोच्छु, उसले मलाई मन नपराए पनि त्यस्तो चाहिं नभनिदिएको भए हुन्थ्यो ।
5/6 महिना बितिसक्यो, म उत्तिकै आहत छु जति थिएँ त्यो रात ।
तर म यो पत्याउन तयार छैन । सपना जस्तै लागिरहेछ, 15 Dec को
रात र त्यसपछिका दिनमा जे भयो । चिच्याउन मन लाग्छ, सबैले सुनुन्, त्यो मेरी हो !!!!
म अक्सर ‘पल्पसा क्याफे’ को एउटा अँश सम्झन्छु, जुन मेरो कथासँग मिल्दोजुल्दो छ । उसलाई भेट्नुअघि मलाई डर लाग्थ्यो, कतै म अस्वीकृत हुने त होइन भनेर । त्यसो नहोस भनेर म कामना गर्थें, मन्दिरमा (विन्ध्यवासिनी) कैयौंपटक प्रार्थना पनि गरें यद्दपि म त्यसरी मन्दिर धाउने मान्छे थिईनँ ।
अँ, त्यो उपन्यासमा ‘म’ पात्रले पल्पसाले आँफुलाई अस्वीकार गर्ने हो कि भन्ने चिन्तामा गाडिएको बखत लेखेको चिट्ठीबाट यो अँश : ”…..उसले हुँदैन भनी भने ? उसले मलाई चाहन्नँ भनी भने ? उसले मलाई प्रेम गर्दिनँ भनी भने ? म चिप्लिनेछु, उक्लिन नसक्ने गरी । किनभने यो मेरो जीवनको पहिलो गम्भीर प्रेम हो र म चाहन्नँ, पहिलो प्रेममै असफल बनूँ । म जीवनप्रतिको दृष्टिकोण फेर्न सक्नेछु । आफ्ना कमजोरीहरुप्रति म सँधै ग्लानिले सडिरहनेछु । मेरो आत्मसम्मानमा ठेस पुग्नेछ र आत्सम्मानविहीन जिन्दगी एउटा मुढो हो भन्ने म ठान्दछु …”
साँच्चै म हारें फेरि कहिल्यै नजित्ने गरि ।