केही तथ्यहरु

1. अनमिन प्रमुख क्यारन ल्यान्डग्रेन हुन् तर उनी अचेल करिन ल्यान्डग्रेन भएकी छन् । मिडीयालगायतकाहरुले उनको नाम ‘क्यारन’ लाई ‘करिन’ बनाईदिए । यो त रामलाई रिमा भनेजस्तो भएन र ? गजब छ, नेपाली मिडीया । यतिखेर त फुस्केको साँढे झैं मिडीया यति सशक्त छ कि कसैले यसमाथि अँकुश लगाउने कुरा सोच्न पनि सक्दैन, जस्तै मै हुँ भन्ने शासकले पनि । राजा ज्ञानेन्द्रको सत्ता बहिर्गमनमा मिडीयाको ठूलो हात रह्यो । तात्तातो र उत्तेजक समाचार पस्किने दौडमा मिडीयाले समाजमा अराजकता फैलाउन खोजेका उदाहरण प्रशस्तै छन् । 

2. केपी ओली एमालेभित्रका काँग्रेसी हुन् भन्दा फरक नपर्ला । भारतको प्रमुख विश्वासपात्रको रुपमा चिनिएका यी कुटील र धुर्त नेताले अहिले देश नै हाँकेका छन् भन्न सकिन्छ । माधव नेपाललाई प्रधानमन्त्री बनाउन यिनको ठूलो भूमिका छ । एमालेभित्र मात्र नभई सरकारमा समेत यिनको प्रत्यक्ष-परोक्ष नियन्त्रण छ । शायद कुनै दिन प्रधानमन्त्री/ राष्ट्रपति बन्ने ताकमा रहेका यिनको भक्तपुरस्थित बंगला देख्दा जिब्रो टोक्नुपर्ने हुन्छ ।

3. निरीह झलनाथ खनाल देख्दा माया लाग्छ । निर्वाचित अध्यक्ष भएर के गर्नु, लगाम अर्कैको हातमा छ । प्रधानमन्त्री बनेर खनालहरुको ईज्जत राख्लान् कि भनेको त, कहाँ हुनु केपी ओलीले नमज्जासँग थाङ्नामा पो सुताईदिए, सुताईरहेकै छन् । यी अत्यन्त अक्षम सावित भए । एमालेलाई एउटा स्पष्ट दिशा दिन यिनले पनि सकेनन् । एमाले कहिले काँग्रेसको पुच्छर बन्यो, कहिले माओवादीको । बनिरहेकै छ  । एमाले आँफैको पुच्छर चाहिं कहिले पलाउला ?  

4. मेरी आमा मलाई ‘कान्छी’ भन्नुहुन्छ (कहिलेकाहीं) । शुरुशुरुमा सबैको अगाडी उहाँले कान्छी भन्दा मलाई अप्ठ्यारो लाग्थ्यो । अचेल त म यति अभ्यस्त भैसकेको छु कि आमाको मप्रतिको ममता सबभन्दा बढी म यही शब्दमा अनुभव गर्दछु ।

5. मैले ‘वालीट’ लिन छाडेको वर्षौं भयो । बीई भर्ना गर्नुभन्दा अगाडी केही समय मैले जागिर खाएको थिएँ र जब छोडें, ‘वालीट’ मैले त्यसपछि कहिल्यै बोकिनँ । मन नै लाग्दैन । अनावश्यक बोझ महशुश हुन्छ जिन्जमा । फेरि पैसा प्रशस्त भए पो ‘वालीट’ बोक्नु ! क्याम्पस जाँदा-आउँदाको बसभाडालाई किन चाहियो ‘वालीट’ !

6. मोबाईलमा घण्टी बज्यो भने मलाई झर्को लाग्छ, रिस उठ्छ । धेरै भयो, मैले मोबाईलको मोह त्यागेको । जब कतैबाट ‘कल’ आउँछ, म झटपट काटिदिन्छु वा ‘साईलेन्स’ मा राखिदिन्छु । परिवारका सदस्य बाहेक बाहिरका व्यक्तिहरुको ‘कल’ म सकेसम्म ‘रिसिभ’ गर्दिनँ । सबै पराया हुन् । को कस्को साथी छ र ! सबै स्वार्थका लागि नै मित्रताको नाटक गर्ने हुन् । त्यसैले मलाई अचेल मान्छेहरुदेखी घृणा लाग्छ । मान्छेहरु दिनानुदिन मोबाईलमुखी हुँदैछन् तर म भने झन् झन् विमुख ।

7. फेरि पनि मलाई मोबाईल नभै हुँदैन । जहाँ जाँदा, जहिलेसुकै, म मोबाईल साथमै बोक्छु , ट्वाईलेट-बाथरुम जहाँ जाँदा होस् । एकै छिन पनि मोबाईल साथमा नहुँदा छट्पटी हुन्छ मलाई । छैन त अनौठो ? अनि अँ, मोबाईल म सँधै जीन्ज वा प्यान्टको पछाडीको दाहिनेपट्टीको खल्तीमा बोक्छु । यसरी बोक्दा मोबाईल हराउने, खस्ने, कसैले झिकिदिने डर त हुन्छ नै, अनि बस्दाखेरी अनावश्यक नम्बर थिचिएर कल हुने सम्भावना पनि रहन्छ र धेरैचोटी यस्तो भएको पनि छ । फेरि ‘किप्याड’ म कहिल्यै ”लक’ गर्दिनँ । यो राम्रो होईन; खोई किन, तर मलाई यही नै मन पर्छ र ‘चेन्ज’ गर्नै सक्दिनँ ।

8. अत्यन्त चिन्तित हुँदा कहिलेकाहीं म ‘हे राम’ भन्छु, रामलाई पुकार्छु । मलाई रामको ईश्वरीय पक्ष होईन, राजाको रुपमा उनको मनुष्य-पक्ष मन पर्दछ । हुन पनि उनी ‘मर्यादा पुरुषोत्तम रामचन्द्र’ को नामबाट मनुष्य रुपमा बढी पुजिन्छन् । 

9. मलाई अचम्म लाग्छ, मान्छेहरु पोखराको ‘डेभिस फल’ हेर्न किन आउँदा हुन् । के छ र त्यहाँ हेर्नुपर्ने कुरा । त्यही फेवातालको पानी गहिरो गल्छी हुँदै जमिनमुनि धसिएको छ । महेन्द्रपुल अथवा के.आई.सिङ पुलबाट सेती धसिएको हेर्नेलाई ‘डेभिस फल’ कुनै आकर्षक लाग्दैन । त्यसैले होला, पर्यटकहरु पनि मुश्किलले केही थोरै मिनेट मात्र त्यहाँ अडिन्छन् । मलाई लाग्छ, ‘डेभिस फल’ ले आवश्यकताभन्दा बढी चर्चा र महत्व पाएको छ र पोखरा घुम्न आउनेहरुका लागि यो ‘खाए खा, नखाए घिच्’ झैं भएको छ । दशकौं अघि डेभिस नाम गरेका पर्यटकहरु त्यहाँ खसेर बेपत्ता नहुँदा हुन् त शायद यो ठाउँ कहिल्यै चर्चित हुने थिएन । पोखरामा आईसकेपछि एकचोटी ‘डेभिस फल’ जानैपर्ने जुन बाध्यता र मान्यता स्थापित भएको छ, त्यो बेकार हो भन्ने म ठान्दछु किनकि ‘डेभिस फल’ हेर्न आउनुभनेको समय र पैसाको बर्बादी मात्रै हो । बरु, त्यहीं नजिक रहेको ‘गुप्तेश्वर महादेव गुफा’ कैयौं गुणा बढी आकर्षक छ ।

पाताले छाँगो ईतिहास भईसक्यो । अहिले जताततै ‘डेभिस फल’ को चर्चा छ । पार्दी उहिल्यै ‘लेकसाईड’ बनिसक्यो । बैदाम ताल कहिलेबाट ‘फेवा ताल’ कहलियो, मलाई थाहा छैन । बाह्य हमला र हस्तक्षेप राजनीतिक र कुटनीतिक तहमा मात्र होईन, हाम्रो मौलिक सँस्कृति, परम्परा र सँस्कारमा पनि सामान्य बनिसकेको छ । हामी आमा होईन, ‘मम्मी’ भन्न रुचाउँछौं । सानैदेखी बच्चाहरुलाई विदेशी भाषा, सँस्कृति सिकाईएको छ, गाउँ-गाउँमा समेत । हाम्रो आफ्नै परम्परा, सँस्कृति भने लोपोन्मुख छ । के कसैलाई विदेशी परम्परा र सँस्कृति भन्दा उसको आफ्नै रहनसहन, सँस्कृति प्यारो हुनुपर्ने होईन र ?

‘भूमण्डलीकरण/विश्वव्यापीकरणको स्वभाविक प्रभाव’ भनेर मात्र हामी हाम्रा यी गलत हरकतबाट उम्कन सक्दैनौं ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s