पुर्वाग्रहको पराकाष्ठा
”जनआन्दोलनअघि अनिश्चित भविष्य बोकेर भारतीय गल्लीमा भौंतारिन बाध्य माओवादीलाई बाह्रबुँदे सहमति गरी उद्धार गर्ने दलहरुको गुनको बदला उसले बैगुनले तिरेको छ ..” (हालसालै हिमाल खबरपत्रिकामा प्रकाशित एउटा लेखको अँश) ।
कति पुर्वाग्रही र सतही विश्लेषण । रगत तातेर आउने । राजाले लात हानेपछि र राजासँग अनेकौं हारगुहार गर्दापनि केही नलागेपछि अस्तित्वरक्षाको खातिर माओवादीसँग याचना गर्न पुगेका एमाले–काँग्रेसको विगतको यथार्थ कसैबाट लुकेको छैन । तर हिमाल खबरपत्रिका भने झूठलाई सत्य र स्वीकारयोग्य बनाउने योजनाबद्ध अभियानमा लागेको प्रतित हुन्छ, माओवादी विरुद्धका सामाग्रीलाई प्राथमिकता दिंदै । राजा ज्ञानेन्द्रको ‘प्रतिगमन‘को विरोधमा रत्नपार्कमा दुई–चार जना मान्छेको झुण्ड खडा गरेर हरेक दिन रमिता गर्नु बाहेक एमाले–काँग्रेसले कुनै निर्णायक आन्दोलन गर्न सकेका थिएनन् । राज्यको समानान्तर शक्तिको रुपमा माओवादी उदाउँदै गर्दा र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा दलहरु अझै पाखा लागिरहेको स्थितिमा उसैको फेर समात्दा मात्र आँफुहरु बच्न सकिने निष्कर्षमा एमाले–काँग्रेस पुगेका कारण अन्तत: 2062 साल मँसिर 7 गते तथाकथित बाह्रबुँदे समझदारी हुन पुग्यो । राजाको प्रत्यक्ष शासनताकाको पछिल्लो हिउँदमा एमाले–काँग्रेसको अनुरोध, सहयोग र समर्थनमा माओवादीले उपत्यकाको थानकोटस्थित प्रहरी चौकीमा आक्रमण गरी ठूलो क्षति पुर्र्याएको घटना यहाँनिर स्मरणयोग्य छ । यसर्थ एमाले–काँग्रेसको ‘मुक्ति‘ अथवा ‘पुनर्जीवन‘ वास्तविक अर्थमा त्यतिबेला सम्भव भयो जब उनीहरु माओवादीको चरणमा याचना गर्न लम्पसार परे । यस्तो सत्यलाई बिर्सिएर हिमाल खबरपत्रिका भने माओवादीलाई बदनाम गर्ने निहुँमा झूठको खेती र भ्रामक सामाग्रीलाई प्रश्रय दिईरहेछ । माओवादीको गल्तीलाई देखाएर जनताबाट तिरस्कृत एमाले–काँग्रेसलाई राम्रो देखाउन सकिन्न । झूठलाई सयचोटी दोहोर्र्यायो भने सत्यजस्तै लाग्छ रे । र, अहिले हिमाल खबरपत्रिकाले त्यही गरिरहेको छ । माओवादीको अस्वस्थ आलोचना गरेर एमाले–काँग्रेसलाई सही ठहर्र्याउने प्रयासको निरन्तरतामा हिमाल छ । यसका हरेक अँक र लेख माओवादी विरुद्धमा नै लक्षित पाईन्छन् । यतिसारो पुर्वाग्रह र खेदो–खनाई मैले अन्त शायदै भेटेको छु । गत वर्ष माओवादी कार्यकर्ताहरुले हिमालमिडियाको कार्यालयमा त्यसै आक्रमण गरेका थिएनन् । अहिले त्यसको पुष्टि हुँदैछ । आखिर हिमालले माओवादीको खेदो किन नखनोस्, प्रकाशक कनकमणि दीक्षित लगायत सम्पुर्ण हिमाल टीम नै एमालेको केपी ओली पक्षीय हुन् ।
माओवादी जनयुद्धले देशका दूर–दराजका भेगमा ल्याएको सामाजिक क्रान्तिलाई हिमालले कहिल्यै सर्र्हाएन बरु काँग्रेस सँसदीय दलको नेतामा कुलीन रामचन्द्र पौडेलको हालैको निर्वाचनलाई ऊ ‘क्रान्ति‘ देख्छ ।
विगत दश वर्षदेखी हिमालको नियमित पाठक, सँग्रहकर्ता र शुभचिन्तक रहीआएको म पछिल्लो समयमा हिमालको माओवादीप्रतिको अत्यन्त अस्वस्थ आलोचना र पुर्वाग्रहको भेउ पाउन सकिरहेको छैन । ‘अति गर्नु, अतिसार नगर्नु‘ भन्ने त उखानै छ । हिमालको यो ‘ज्यादती‘ कहिलेसम्म ?
यद्दपि जनयुद्धकालमा हिमालले गरेको सटिक रिपोर्टीङ सँधै नै तारीफयोग्य छ ।